प्रधानमन्त्रीको प्रतिबद्धताको परीक्षण गर्न सरकारलाई समर्थन : प्रवक्ता महत

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो । तर, कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।”
उनले आफूहरूले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । “संसद्मा गुण र दोषका आधारमा हामीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छाैँ । सरकारलाई समर्थन गरे पनि हामीहरू सरकारमा जाने भनेको होइन,” नेता महतले भने ।
डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उनको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको उल्लेख गरे ।
संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्यांकनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए ।
प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उमेदवार नभएको पनि स्पष्ट गरे ।