सात हजार ३५६ मा डेंगी संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

२६ भाद्र २०७९, आईतवार १४:१९

काठमाडौं । अहिले नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७९ साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र सुदूरपशिचममा १८८ जनामा संक्रमण देखिएको छ ।

महाशाखाका अनुसार हालसम्म डेंगी संक्रमणबाट दुईजनाको मृत्यु भएको तथ्यांक छ । विभिन्न अस्पतालहरुको तथ्यांकअनुसार भने डेंगीबाट भदौ २४ गतेसम्म सातजनाको मृत्यु भइसकेको छ ।

महाशाखाले अर्ली वार्निङ रिपोर्टिङ सिस्टम इवार्समार्फत देशभरको तथ्यांक संकलन गर्ने गरेको छ । इवार्समा हालसम्म ११८ वटा अस्पताल मात्रै समावेश रहेकाले संक्रमितको संख्या अझै धेरै हुनसक्ने महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्ण दाहालले बताए ।

डेंगी संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने विज्ञहरु बताउँछन् । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरु हुन् ।

डेंगी संक्रमण हुँदा पेन किलर नखान, झोलिलो खानेकुराहरु बारम्बार खान र जीवनजल पानी धरै पिउन डा. पुनको सुझाव छ ।

विज्ञहरुका अनुसार फ्लेक्सोन, ब्रुसिट लगायतका दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । यस्ता औषधिको प्रयोगले नाक, गीजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउनसक्छ ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*