यातायातको नयाँ भाडादर सार्वजनिक हुँदै, कुन रुटमा कति तिर्नुपर्ला ?

२० चैत्र २०७८, आईतवार १३:५०

यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार बढाएको भाडादरलाई रुटगत रूपमा सार्वजनिक गर्ने भएको हो ।

मन्त्रालयले बिहीबार मालवाहक र यात्रुवाहक गरी १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । तराईमा यात्रुवाहक सवारीको भाडादर १० देखि ११ प्रतिशत र पहाडी क्षेत्रमा १४ प्रतिशतसम्म भाडादर कायम गर्ने तयारी विभागको छ । मालवाहकको हकमा १३ प्रतिशतसम्म भाडादर कायम हुन सक्नेछ ।

छोटो दूरीको हकमा रुटगत भाडादर सार्वजनिक गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । यातायात व्यवसायीको मागानुसार १४ प्रतिशतसम्म मालवाहक र १३ प्रतिशतसम्म यात्रुवाहक सवारीमा भाडादर लागु हुने गरी तयारी भइरहेको उनको भनाइ । ‘‘भौगोलिक रुटका आधारमा भाडादर लागु गरिनेछ,” उनले भने ।

विभागले काठमाडौं उपत्यकामा छोटो दूरीमा १८ रुपैयाँको ठाउँमा २०, २३ रुपैयाँको ठाउँमा २५ र २७ रुपैयाँको ठाउँमा ३० रुपैयाँ भाडादर लागु हुन सक्ने जनाएको छ ।

सरकारले भौगोलिक क्षेत्रका आधारमा भाडादर समायोजन गरेको भन्दै व्यवसायीहरू असन्तुष्ट छन् । नेपालभर सबै क्षेत्रमा समान भाडादर कायम गर्नुपर्ने व्यवसायीको माग यथावत् नै छ ।

छोटो दूरीको हकमा र अन्तरप्रदेश फरक–फरक भाडादरलाई समान गर्न पुनः सरकारलाई दबाब दिने व्यवसायीको तयारी छ ।

सरकारले गएको कात्तिक १ गतेदेखि लागु हुने गरीे २३ प्रतिशतले भाडादर वृद्धि गरेको थियो । सोही भाडादरअनुसार उपत्यकामा किलोमिटरका आधारमा भाडादरको कार्यविधि तयार पारिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*