आईपीएल : नयाँ टिम लखनउको पहिलो जित

काठमाडौं । क्विन्टन डी कक र इभिन लेविसको अर्धशतकप्रेरित लखनउ सुपर जायन्टले बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको विजय हासिल गरेको छ ।
मुम्बईस्थित ब्राबोउर्ने रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । २११ रनको लक्ष्य लखनउले तीन बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।
आईपीएलमा नयाँ टोली लखनउको यो पहिलो जित हो । लखनउ पहिलो खेलमा अर्को नयाँ टिम गुजरात टाइटन्ससँग पराजित भएको थियो । चेन्नईको भने यो लागतार दोस्रो हार हो । चेन्नई पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।
चेन्नईका लागि रोबिन उथप्पाले ५०, शिवम दुबेले ४९, मोइन अलीले ३५, अम्बती रायडुले २७, रवीन्द्र जडेजाले १७ र महेन्द्रसिंह धोनीले अविजित १६ रन बनाए ।
लखनउका रवि विश्नोइ, एन्ड्रयू टाई र आभाष खानले समान दुई विकेट लिए ।
२११ रनको लक्ष्य पछ्याएको लखनउका लागि डी ककले ६१ रन बनाए भने लेविस ५५ रनका अविजित रहे । कप्तान केएल राहुलले ४० रन बनाउँदा आयुष बदोनीले अविजित १९ रन बनाए । दीपक होडाले १३ रन जोडे ।
चेन्नईका ड्वाइन प्रेटोरियसले दुई तथा ड्वाइन ब्राभो र टुशार देशपाण्डेले एक/एक विकेट लिए ।
आईपीएलमा आज कोलकाताले पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पञ्जाबले यसअघि रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो ।