‘नार्सिसिस्ट’हरु सबैभन्दा खुसी

२१ कार्तिक २०७६, बिहीबार १०:४८

सुन्दा अचम्म र अपत्यारिलो लाग्न सक्छ, यस्ता मानिस जीवनमा सबैभन्दा खुसी रहन्छन् भनेर । मनोवैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले त्यस्तै कुरा पत्ता लगाएका छन् जुन हत्तपत्त पत्याउन सकिँदैन । उनीहरुले गरेको लामो अध्ययन–अनुसन्धानले निष्कर्ष निकालेको छ– ‘आत्ममुग्ध मानिस अनौठा हुन्छन्, तर ती जीवनमा अरुभन्दा खुसी रहने गर्छन् ।’

आत्ममुग्ध अर्थात् आफैंमाथि मोहित या आत्मरतिमा रमाउने । अङ्गे्रजीमा भन्दा नार्सिसिस्ट। यी यस्ता मानिस हुन् जो आफूलाई अन्यभन्दा महान् र स्तरीय ठान्ने भ्रममा रहन्छन् । आत्ममुग्ध मानिस स्वयम्लाई आवश्यकताभन्दा बढी भाउ दिन्छन् र अर्को व्यक्तिले आफूप्रति बढी ध्यान दिनुपर्ने भावना यिनमा रहन्छ । एकप्रकारले यस्ता मानिस ‘एटेन्सन सिकर’ हुने गर्छन् ।

ad

उत्तरी आयरल्यान्डस्थित क्विन्स युनिभर्सिटीका मनावैज्ञानिकहरुले नार्सिसिस्टमाथि शोध गरेका थिए । सो शोधबाट आत्ममुग्ध मानिस सहज ढङ्गमा डिप्रेसन तथा तनावको सिकार नहुने पत्ता लागेको थियो । यस्ता मानिसको व्यवहार अरुलाई तनाव दिने, तर त्यसबाट आफू कुनै पनि हालतमा दुःखी नहुनेखालको रहेको हुन्छ । शोधको अगुवा मनोवौनिक डाक्टर कोस्टास प्यापजार्ज भन्छन्, ‘‘आत्ममुग्ध हुनुको आफ्नै फाइदा छन् ।’’

शोधकर्ताहरु आधुनिक समाजको हरेक क्षेत्र– राजनीति, सामाजिक सञ्जालहरु, सेलिब्रिटी कल्चरलगायतमा आत्ममुग्धता बढेको बताउँछन् । यद्यपि, समाजले आत्ममुग्धतालाई कुनै पनि कोणबाट राम्रो मान्दैन ।

कम लाज, कम पछुतो
मनोवैज्ञानिकहरुको परिभाषामा आत्ममुग्धहरु ‘दम्भी मानिस’ हुन् । ती आफूलाई असल सम्झन्छन् । आवश्यकताभन्दा बढी आत्मविश्वासले भरिएका हुन्छन् । अरुको दुःख–पीडामा कम ध्यान दिन्छन् । तिनमा लाज कम हुन्छ र पछुतो पनि निकै कम हुन्छ । नकारात्मक सोच हुँदाहुँदै पनि किन आत्ममुग्ध मानिस खुसी हुन्छन् भन्ने कुराको खोज पनि मनोवैज्ञानिकहरुले गरिरहेका छन् ।

आत्ममुग्ध मानिस खुसी हुनुलाई मनोवैज्ञानिकहरुले एक ‘पहेली’ मानेका छन् । यिनीहरु त्यस्तै हुन् जस्ता साइकोप्याथीहरु हुने गर्छन् । र, यिनमा स्याडिज्म (परपीडक– अरुको दुःखमा खुसी हुने) आदत हुन्छ ।

सत्ताको नजिक पुग्न सफल
हालैको अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि, आत्ममुग्ध मानिस कार्यक्षेत्र तथा निजी जिन्दगीमा अपेक्षाकृत बढी सफल हुन्छन् । यस्ता मानिसमा एक किसिमको ‘मानसिक मजबुती’ हुन्छ, जसका कारण उनीहरु निराशाबाट छिट्टै तङ्ग्रिन्छन् ।
डा. कोस्टासका अनुसार नार्सिसिस्टहरुमा थुप्रै नकारात्मकता हुनुका साथै यिनले अरुको विचार र व्यवहारलाई आफूविरुद्धको ठान्छन् । यिनीहरु असुरक्षाको भावनाबाट घेरिएका हुन्छन् । उनी भन्छन्, ‘‘धेरै प्रकारका नकारात्मक सोच हुँदाहुँदै पनि नार्सिसिस्टहरु विभिन्नखाले फाइदामा रहेका हुन्छन् ।’’

(बीबीसीमा आधारित)


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*